समाचार

वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने

वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने


पोखरा, नेपाल – “वर्डक्याम्प नेपालको छैठौँ संस्करण आधिकारिक रूपमा जनवरी १२ र १३, २०२४ मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुँदैछ। वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ। पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध समुदाय उत्साहित छन्। सूचना प्रविधीको क्षेत्रमा नेपालमा आयोजित सम्मेलनहरु मध्ये सबैभन्दा ठुलो सम्मेलनका रुपमा लिइने यस कार्यक्रमलाई कतिपयले सूचना-प्रविधिको महा-कुम्भ मेला समेत भन्ने गरेको पाइन्छ।

पोखरामा पनि MICE पर्यटन अन्तर्गत पर्ने यस्ता ठूला विश्वस्तरका सम्मेलन गर्न सम्भव रहेको, र यस्ता कार्यक्रमको लागि पोखरा उत्कृष्ट गन्तव्य रहेको जानकारी सूचना-प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय बजारमा प्रचार हुने विश्वास गरिएको छ। कार्यक्रममा पोखरा भन्दा बाहिरका ४०० स्वदेशी तथा २५० विदेशीको सहभागिता रहने आकलन गरिएको छ।   

वर्डक्याम्पहरू अनौपचारिक तथा स्थानीय रूपमा संगठ���त सम्मेलनहरू हुन् जसले वर्डप्रेस सफ्टवेयरसँग सम्बन्धित विभिन्न विषयहरुका बारेमा जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। वर्डप्रेस एक नि:शुल्क तथा खुला स्रोतको सफ्टवेयर हो जसको प्रयोगले आज विश्वभरिका झन्डै ४२% वेबसाइटको उत्पादन र  सञ्चालनमा प्रत्यक्ष सहयोग पुगेको छ।

विश्वमा पहिलो वर्डक्याम्प सन् २००६ मा वर्डप्रेसका सह-संस्थापक म्याट मुलेनवेगको अगुवाईमा अमेरिकाको सान-फ्रान्सिस्कोमा सम्पन्न भएको थियो, र त्यस यता विश्वभरका वर्डप्रेस सम्बद्ध स्थानीय समुदायहरूको सहकार्यमा सयौं अरू वर्डक्याम्पहरु सफलता पुर्वक सम्पन्न भएका छन्। आजका दिनसम्म, ६५ देशका ३९१ शहरहरूले ११७२ वर्डक्याम्पहरू सम्पन्न गरिसकेका छन्। नेपालमा हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल जस्ता सहरमा १५ वटा सहर आधारित तथा देशव्यापी वर्डक्याम्पहरु सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।

जनवरीमा हुने वर्डक्याम्प नेपाल २०२४, नेपालका लागी एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ किनभने यो वर्डप्रेस उत्साहीहरू बीच ज्ञान आदानप्रदान र सहकार्यलाई बढावा दिने परम्परालाई निरन्तरता दिँदै देशमा आयोजित हाल सम्मकै सबैभन्दा ठूलो वर्डक्याम्प हुनेछ। यो संस्करणलाई सबै सहभागीहरूका निम्ति अविस्मरणीय अनुभव दिने प्रतिज्ञाका साथ, अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी र आकर्षक संस्करणका रूपमा चित्रण गरिएको छ। कार्यक्रममा नेपाल, भारत, अमेरिका, हङ्गकङ्ग, युरोपियन मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रहरु बाट झन्डै १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने छ।

सम्मेलनका आकर्षणहरु:

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ। जसमा बिहान देखि बेलुका सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिनुहुनेछ। सम्मेलनका  मुख्य आकर्षणहरु यस प्रकार रहनेछन्:

प्रेरणादायी वक्ताहरू: वर्डप्रेस र सूचना प्रविधी क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप���राप्त विज्ञहरूले वेभ डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ्ग, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन (SEO), मेसिन लर्निङ, आर्टिफिशियल इन्टेलिजेन्स, वर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरुमा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधीका नविन आयामहरु बारे जानकारी प्रदान गर्नेछन्। हालसम्म बंगलादेश बाट ३ जना, भारत बाट ५ जना, जर्मनी बाट १ जना, स्विजरल्याण्ड बाट १ जना, अमेरिका बाट १ जना र नेपाल बाट १८ जना गरी २९ जना वक्ताहरू आउने निधो भइसकेको र थप १५ वक्ताहरू चयनको प्रक्रियामा रहेका छन्। नेपाली वक्ताहरूमा डा. महावीर पुन समेत सामेल हुनुहुनेछ।

अन्तरक्रियात्मक कार्यशालाहरू: वर्डक्याम्प नेपालले व्यावहारिक शिक्षाका अवसरहरू पनि प्रदान गर्ने लक्ष्य राखेको छ। सहभागीहरूलाई वर्डप्रेससँग सम्बन्धित विषयहरूको अध्ययन तथा योगदानका बारे प्रशिक्षण दिने उद्देश्यले श्रृंखलावद्द रुपमा अन्तरक्रियात्मक कार्यशालाहरू सञ्चालन गरिनेछन्। शुरुवातकर्ता होस् वा व्यावसायिक प्रयोगकर्ता, यी कार्यशालाहरू स��ै सीप स्तरहरूका सहभागीहरुको जिज्ञासा पूरा गर्ने कार्य��ा केन्द्रित हुनेछन्।

नेटवर्किङ अवसरहरू: वर्डक्याम्पहरुको महत्त्वपूर्ण फाइदाहरू मध्ये एक, समान रुचि र उद्देश्य भएका व्यक्तिहरू बिच परिचित हुने मौका हो। यस वर्डक्याम्पले सहभागीहरूलाई वर्डप्रेस विकासकर्ताहरू र सम्भावित सहयोगीहरूसँग जोडिन पर्याप्त अवसरहरू प्रदान गर्नेछ। वोर्डप्रेस समुदायभित्र अर्थपूर्ण सम्बन्ध निर्माण गर्नाले भविष्यमा आपसी सहयोग र संयुक्त परियोजनाहरूमा आवद्ध हुने अवसर जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

योगदानकर्ता दिवस: कार्यक्रमको एक भागको रूपमा, एक समर्पित योगदानकर्ता दिवस हुनेछ। यस सहयोगी सत्रको उद्देश्य वर्डप्रेस आफैं, प्लगइनहरू, विषयवस्तुहरू, र प्लेटफर्मसँग सम्बन्धित अन्य खुला स्रोत परियोजनाहरूको विकासमा सक्रिय सहभागितालाई प्रोत्साहित गर्नु हो। सहभागीहरूले आफ्नो विशेषज्ञता अनुसार योगदान गर्न सक्छन्। यस वर्ष, योगदान दिवस मुख्य सम्मेलन दिनको एक दिन अघि, १२ जनवरी, २०२४ मा आयोजना गरिएको छ।

प्रायोजक प्रदर्शनीहरू: कार्यक्रम स्थलमा प्रायोजक लक्षित प्रदर्शनी क्षेत्र रहनेछ जहाँ सूचना प्रविधि उद्योगमा आवद्ध प्रमुख कम्पनीहरू तथा संस्थाहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शनमा राख्नेछन् । बजारमा उपलब्ध नवीनतम उपकरण र डिजिटल सोलुसनहरूको जानकारी लिन इच्छुक सहभागीहरूका लागि यो उत्कृष्ट अवसर हुनेछ । हालसम्म जेटप्याक, ब्लुहोस्ट, साइटग्राउन्ड, वेग्लोट, कोडविंग, गोड्याडी, डियरफ्लिप, थिमग्रिल, वु-कमर्स, वेभ अक्स्पर्ट्स नेपाल, मेन डब्ल्युपी, सोफ्टाक��लस, डब्ल्युपी रिमोट, योस्ट, ब्रोडवे इन्फोसिस, इ-प्लानेट, मोसियाक एडभेन्चर, इगल भिजन आइटी, बिजिनेस ग्लोबलाईजर, जेनेसिस वेब टेक्नोलोजी, गुटेनीफाई, गुटेनटर, किओन थिम्स, नेपाल मेन्टर, ओर्का सोसल्स, डब्लुपी ट्राभल जस्ता कम्पनीहरु प्रायोजकका रुपमा जोडिएका छन्। साथै सहभागीहरुले खल्तीबाट टिकट खरिद गर्दा रु. २०० छुट पाउने गरी कार्यक्रमको पेमेन्ट पार्टनरको रुपमा खल्ती जोडिएको छ।

दर्ता तथा कार्यक्रम स्थान:

वर्डक्याम्प नेपाल २०२४, पार्दी, बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुनेछ। सहभागिताका लागि यस कार्यक्रमको अधिकारीक वेभसाइटमा गइ अथवा खल्ती एप बाट टिकट खरिद गर्न सकिनेछ।

दुई प्रकारका टिकट उपलब्ध छन्, जसमा रु. ५०००/- को माइक्रो प्रायोजक टिकट वा रु.२०००/- को साधारण टिकट खरिद गर्न सकिन्छ। साधारण टिकटमा खल्ती एप बाट ‘WCNP2024’ प्रोमो कोड राखी रु. २००/- छुट प्राप्त गर्न सकिन्छ। हालसम्म ५५० टिकट बिक्री भइसकेको र बाँकी टिकटमा समेत माग उच्च हुने हुँदा समयमै आफ्नो सिट सुरक्षित गर्न आग्रह गर्दछौं। टिकटमा एउटा टि-शिर्ट, सम्मेलनका दिनको ब्रेकफास्ट, खाना, कफीका साथै कार्यक्रममा हुने सम्पूर्ण सत्रहरू समावेश गरिएको छ। 

यो पोस्ट सम्पादन गर्न सहयोग गर्नु भएकोमा पारस देवकोटालाई धेरै धेरै धन्यवाद।

जवाफ लेख्नुहोस्